७४ जिल्लामा फैलियो डेंगु, २ जनाको मृत्यु

Yangle News
Yangle News
२०८२ भदौ ६ गते
७४ जिल्लामा फैलियो डेंगु, २ जनाको मृत्यु

डेंगुको संक्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु संक्रमण पनि बढ्न थालेको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २ सय ११ जनामा डेंगु संक्रमण देखिएको छ । यसैगरी, डेंगु संक्रमणबाट दुई जनाको निधन भएको छ ।

कोशी प्रदेशमा ५ सय ६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६ सय ७५, गण्डकी प्रदेशमा ९ सय १४, लुम्बिनी प्रदेशमा ५ सय ५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३ सय ८४ जनामा डेंगु संक्रमण देखिएको प्रमुख डा. दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गरेका छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगु रोग लाग्दछ । डेंगु रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरेको छ ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेंगुको संक्रमण देखिने गर्दछ । यो समयमा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरूको सुझाव छ ।

डेंगुका बिरामीहरूको संख्या बढिरहेकोले आफ्नो घर, टोल, समुदाय र कार्यालयमा अझ सक्रियताका साथ खोज र नष्ट गर अभियानमा लाग्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

गत वर्ष डेंगु संक्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना संक्रमित भएका थिए ।