प्रधानमन्त्री सुशीला कार्कीले असोज १७ गतेदेखि २० गतेसम्म विभिन्न प्रदेशमा हुने अनुमानित भारी वर्षा तथा सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्रीको तर्फबाट स्वकीय सचिवालयले जारी गरेको अपिलमा सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र डुबानमा पर्न सक्ने स्थानका नागरिकलाई सुरक्षित स्थानमा पूर्व तयारीसहित सार्न आग्रह गरिएको छ ।
विशेषगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा गम्भीर बिरामीलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई विशेष तयारी गर्न निर्देशन दिइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले विपद व्यवस्थापनका लागि जिम्मेवार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक, गैर सरकारी संस्था तथा आपतकालीन कार्य सञ्चालन केन्द्रलाई आ-आफ्नो भूमिकामा सक्रिय रहन आग्रह गरेको छ । साथै उद्धार, राहत, पुनःस्थापना लगायतका कार्य प्रभावकारी ढंगले सम्पादन गरी विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान पुर्याउन सबै सरोकारवालालाई अपिल गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय स्थानमा भारी तथा अति भारी वर्षा हुने देखिएको छ । यस अवधिमा नारायणी, वागमती, कमला, कोशी लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूमा पानीको सतह खतरातह नजिक पुग्ने सम्भावना रहेको चेतावनीमा उल्लेख छ । साथै मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने साना नदी-नालामा आकस्मिक खहरे बाढी आउने जोखिम रहेको पनि जनाइएको छ ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका ससाना खोलानालामा पनि आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए ।