संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । सभाध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
संवैधानिक व्यवस्थानुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयक राष्ट्रियसभाबाट पारित गर्नुपर्ने आज अन्तिम समयसीमा रहेको थियो । मन्त्री न्यौपानेले यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवदेनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विधेयकले संघीयताको मर्मअनुसार कर्मचारीको व्यवस्थापन गर्ने विश्वास व्यक्त गरिन् । उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।
‘राष्ट्रियसभाले एउटा इतिहास रचेको छ । संघीयता कार्यान्वयन गर्न आवश्यक यो विधेयकमा हार्दिकताका साथ सहमति जुटेको छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘संघीयतामा गएको यतिका वर्ष हुँदा पनि कर्मचारीको व्यवस्थापन हुन सकिरहेको थिएन । अब कर्मचारी व्यवस्थापनमा भइरहेको असहजता र अन्योलको हल हुनेछ ।’
विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरू गोपीबहादुर सार्की अछामी, गोपाल भट्टराई, राधेश्याम पासवान, पद्मबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, कृष्णबहादुर रोकाया र मायाप्रसाद शर्माले धारणा राखेका थिए ।
सभाको आजकै पहिलो बैठकमा विधान व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले उक्त विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेकी थिइन् ।