अलफ्ट होटलको वाल्डो क्यासिनो अवैध ढंगले विस्तार गर्ने तयारी

Yangle News
Yangle News
२०८२ मंसिर १५ गते
अलफ्ट होटलको वाल्डो क्यासिनो अवैध ढंगले विस्तार गर्ने तयारी

काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा अवस्थित अलफ्ट होटलको वाल्डो क्यासिनो अवैध ढंगले विस्तार गर्ने तयारी गरेको छ । हाल पनि क्यासिनो नियमावली २०८२ विपरीत अन्डरग्राउन्डमा क्यासिनो चलाइरहेको अलफ्टले माथिल्लो तलामा पनि क्यासिनो विस्तार गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाले १० हजार वर्गफिटभन्दा बढी क्षेत्रमा भवन संरचना निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङ अनिवार्य गरेको छ । तर, अलफ्टले अन्डरग्राउन्डमा पार्किङसहित क्यासिनो चलाएको छ । पार्किङस्थलमा अन्य व्यावसायिक गतिविधि गरेको पाइए महानगरपालिकाले भत्काउँदै आएको छ ।

त्यस्तै क्यासिनो नियमावलीअनुसार एउटा पाँचतारे होटल वा रिसोर्टमा एउटा मात्र क्यासिनो, एउटामात्र प्रवेशद्वार र बहिर्गमनका लागि एउटामात्र ढोका हुनुपर्छ । अलफ्टले अन्डरग्राउन्डसहित छायाँ कम्प्लेक्सको पहिलो तलामा पनि क्यासिनो विस्तार गर्न लागेको छ । दुईवटा तलामा क्यासिनो चलाउनासाथ दुईवटै प्रवेशद्वार र बहिर्गमनका लागि दुईवटा ढोका बनाउनुपर्ने हुन्छ, जुन नियमावलीमा उल्लिखित मापदण्डविपरीत हुनेछ ।

नियमावलीको नियम ६ को उपनियम १८ अनुसार खेलाडी तथा क्यासिनोसँग सम्बन्धित कर्मचारी क्यासिनो स्थलमा प्रवेश गर्न र बाहिर निस्किनका लागि छुट्टाछुट्टै मार्ग वा ढोकाको व्यवस्था हुनुपर्छ ।

१५ तला रहेको छायाँ कम्प्लेक्सको पाँचौं तलादेखि माथि २०७६ सालदेखि पाँचतारे अलफ्ट होटल सञ्चालनमा छ । होटलमा १६० कोठा छन् । अनुमानित लागत साढे ५ अर्ब रहेको छायाँ सेन्टरको चौथो तलासम्म भने २३० वटा पसल युनिट छन् । दुई तला अन्डरग्राउन्ड रहेको कम्प्लेक्सको एउटा अन्डरग्राउन्डमा करिब ३ सयवटा गाडी अट्ने पार्किङ बनाइएको छ भने अर्को अन्डरग्राउन्डमा हाल वालडोर नामबाट क्यासिनो चलाइएको छ ।

वालडोरमा चिनियाँ नागरिकको बहुमत सेयर छ । अहिले म्यानमारमा रहेका चिनियाँ स्क्यामरहरुलाई माथिल्लो तला लिजमा दिएर वालडो नामबाटै क्यासिनो चलाउन लागिएको हो । माथिल्लो तलामा क्यासिनोका लागि अनुमति पाएका चिनियाँ स्क्यामरहरु म्यानमारमा कारबाहीमा परेपछि नेपाललाई लगानीको अर्को गन्तव्य बनाउन लागेका हुन् । यसले पनि एउटै होटलमा दुईवटा क्यासिनो चलाउन लागेको स्पष्ट हुन्छ ।

क्यासिनो सञ्चालन गर्दा सरकारलाई हरेक वर्ष ८ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्छ । तर, अलफ्टमा एउटा नामबाट दुईवटा क्यासिनो चलाएर रोयल्टी छली गर्ने योजना बनाइएको भन्दै आलोचना सुरु भएको छ । क्यासिनो नियमावलीको नियम ५ (ङ) अनुसार एउटै होटल वा रिसोर्ट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न पाइँदैन । यसले हरेक वर्ष सरकारलाई रोयल्टी बापतको ८ करोड घाटा हुने देखिन्छ ।

Yangle News

पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लिलाधर अवस्थीले एउटा होटल परिसरमा एउटा क्यासिनो खोल्न सक्ने व्यवस्थाअनुसार नै माथिल्लो तलामा विस्तार गर्न लागिएको हुनसक्ने बताए । उनले भने, ‘नियमावली अलि स्पष्ट छैन,’ उनले भने, ‘दुईवटा तलामा चलाउन नपाइने भन्ने उल्लेख छैन ।’ तर, दुई वटा क्यासिनो चलाउन भने कानुनले बन्देज लगाएको उनले बताए । ‘सेयर स्वामित्व थपघट गरेर चलाउन लागिएको भए त्यसमा विभागले हस्तक्षेप गर्न सक्दैन,’ निर्देशक अवस्थीले भने ।

ठमेलको करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यापारी कम्प्लेक्स छायाँ सेन्टरमा रहेको यो पाँचतारे होटल स्टारउडको अलफ्ट ब्रान्डमा सञ्चालन भएको हो ।