लगातारको बर्षासँगै आएको बाढी-पहिरोका कारण पछिल्लो दुई दिनमा १४ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएयताको अवधिमा प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३\३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २\२ तथा काठमाडौं र उदयपुरमा १\१ जनाको मृत्यु भएको छ ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो । त्यसबाट १४७ परिवार प्रभावित भएका छन् ।
घर, सडक, पूल लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैबीच, आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा मौसममा सुधार देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अझै पनि आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित रहनेछ । सोमबारदेखि मौसममा केहि सुधार देखिने पूर्वानुमान छ ।