एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै २,२०० वटा टावरहरुमा क्षमता अभिवृद्धि गरेको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
विश्वसनिय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरुसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो । सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेशगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाईएको थियो ।
प्रदेशगत रूपमा हेर्ने हो भने, एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँहरुमा पनि टावरहरू स्थापना गरिएका छन् । यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरुमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानियहरु उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् ।
‘अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ । पहिला भन्दा धेरै नै राम्रो भयो,’ जनकपुर उपमहानगरपालिका वडा नं. १७, मनहरपुरकी अनिशा मण्डलले भनिन् । बिबिए अध्ययनरत उनी नयाँ टावरहरुको सञ्चालनबाट लाभ लिने देशभरका हजारौ ग्राहकहरुमध्ये एक हुन् । ‘मलाई पढ्नलाई पनि मोबाइल र नेटको धेरै आवश्यकता हुन्छ । कलेजको नोटिसहरु अनलाइनमा हेर्न, नोटहरु एक्सचेन्ज गर्न, नबुझेको कुरा यूट्युब, च्याटजीपीटीमा सिक्न नेट नभई हुन्न । फेरी दाईहरु विदेशमा हुनुहुन्छ उहाँहरुसँग पनि रेगुलर कुरा गर्नपर्छ,’ उनले बताइन् ।
कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरु पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने, स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रुपमा अगाडि बढाएको थियो ।
‘देशभर थपिएका हाम्रा यी नयाँ टावरहरू र क्षमता अभिवृद्धि गरिएका साइटहरुले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँहरूमा ग्राहकहरुलाई मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । यसले फोरजी कनेक्टिभिटीको महत्वलाई अझ बढाएको छ,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘यो नेटवर्क सुधार र विस्तार अझै राम्रो कनेक्टिभिटीमा पहुँच सुनिश्चित गराउने कदम हो जसले आधारभूत सञ्चार, व्यवसाय, अध्ययन र हामीमाथि भरोसा गरेर सधैं सम्पर्कमा रहन चाहने हरेक ग्राहकहरुलाई ठूलो महत्व राख्दछ । गुणस्तरीय सेवा र उच्च गतिको डेटा केवल गति मात्रको कुरा होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो ।’
नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् । नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि, एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो ।
यस विस्तारले देशव्यापी रुपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुनेछ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।