संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग भएको र रहनुपर्ने बताएका छन् । महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहेको संयुक्त राष्ट्रसंघका सहप्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गाजामा प्यालेस्टिनीहरूले भयानक मानवीय विपत्ति भोगिरहेका छन् । जबरजस्ती विस्थापन, हत्याले ठूलो विनाश निम्त्याउने बताए । महासचिवले स्थायी युद्धविराम, गाजामा निर्वाध मानवीय पहुँच र सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाइको लागि अह्वान गरेका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी)ले गाजा सिटी कब्जा गर्ने इजरायलको योजनाबारे छलफल गर्न आकस्मिक बैठक बस्ने भएको छ । गत शुक्रबार इजरायली सुरक्षा क्याबिनेटले अनुमोदन गरेको उक्त योजनाले अन्तर्राष्ट्रिय आलोचना भोगिरहेको छ ।
डेन्मार्क, फ्रान्स, ग्रीस, बेलायत र स्लोभेनियाको अनुरोधमा बोलाइएको हो । युएनएससी प्रतिवेदनअनुसार, अमेरिका बाहेकका सबै सदस्यले बैठक आह्वानको पक्षमा मतदान गरेका थिए । संयुक्त राष्ट्रका प्रतिवेदकहरूले गाजाको मुख्य सहर कब्जा गर्दा हुने सम्भावित परिणामबारे विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
इजरायलको निर्णयपछि जर्मनी, बेलायत, इटाली, न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त विज्ञप्ति जारी गर्दै योजनालाई अस्वीकार गरेका छन् । विज्ञप्तिमा यस कदमले मानवीय संकट अझ गहिरो बनाउने, बन्धकको ज्यान जोखिममा पार्ने र ठूलो संख्यामा सर्वसाधारण विस्थापन हुने चेतावनी दिइएको छ ।