रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

Yangle News
Yangle News
२०८० बैशाख २९ गते
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
फाइल फोटो

 

गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ ।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले आगामी साताको मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अघि विमानस्थलमा सफल परीक्षण उडान गरेपछि गुल्मेलीले हवाई सेवा पाउने निश्चित भएको थियो ।

व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताईन ।

हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाईन । आज बिहान साढे छ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले सवा सात बजे १४ जना यात्रुसहित रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो ।

प्रतियात्रु छ हजार तीन सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो ।

विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल ३५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।