इन्धन आपूर्ति सहज हुन थाल्यो : नेपाल आयल निगम

Yangle News
Yangle News
२०८१ असार ४ गते
इन्धन आपूर्ति सहज हुन थाल्यो : नेपाल आयल निगम

 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलनका कारण कठिन बनेको इन्धनको आपूर्ति आजबाट सहज बन्न थालेको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगम र संघबीच हिजो दिउँसो सहमति भएसँगै थानकोट डिपोले उपत्यकाको मागभन्दा दोब्बर इन्धन बजारमा पठाएको जनाएको छ ।

थानकोट डिपोले सबै पम्पमा इन्धन पुगेको र  पेट्रोलका लागि अब लाइन बस्नु नपर्ने बताए पनि पम्पहरुमा आज मध्यान्हसम्म पनि सेवाग्राहीको लाइन देखिन्छ ।

पट्रोल ढुवानी चालकले गरेको आन्दोलनकै कारण आइतबार र सोमबार सर्वसाधरणले सास्ती भोग्नु परेको थियो । निजी पेट्रोल पम्पले इन्धन वितरण गरेका थिएनन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधरणको बाक्लो भिड लागेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसँग गरिएको छलफलपछि संघले आन्दोलन फिर्ता लिएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा भएको छलफलमा संघले उठाएका माग सम्बोधन गर्न उपसमिति गठन गर्नेलगायत विषयमा सहमति जुटेको छ ।

उक्त उपसमितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश छ ।