भारतको नयाँ दिल्लीस्थित लाल किल्लानजिकै भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले दु:ख व्यक्त गरेकी छन् । कार्कीले आज सामाजिक सञ्जालमा विस्फोटको घटनाले स्तब्ध भएको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छन्, ‘हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोट घटनाबाट म स्तब्ध र दुःखी भएको छु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्ध छ ।’
नयाँ दिल्लीमा सोमबार साँझ कार विस्फोट भएको थियो । विस्फोटमा परेर ८ जनाको ज्यान गएको पुष्टि भएको छ ।