टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड-२ मा आज भएको खेलमा नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको हो ।
एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । उनले २५ बल खेल्दै क्याच भए । पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै बोल्ड भए । उनी ३.१ ओभरमा म्याट ह्यामोन्डले बोल्ड गरेका हुन् । तेस्रो क्रममा आएका लोकेश बम ह्यामोन्डको बलमा क्याच हुँदै डकआउट भए । ५.४ ओभरमा अर्का ओपनर आशिफ शेख १४ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए । नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २५ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल २० बलमा २३ रन बनाउँदै बाउन्ड्रीमा क्याच भए ।
१५.४ ओभरमा ५ विकेट गुमाउँदै नेपालले १०० रन पूरा गरेको थियो । गुल्सन झा ९ बलमा २६ रन पूरा गर्दै बोल्ड भए । उनी १७ ओभरको अन्तिम बलमा हामिस मार्टिनको बलमा बोल्ड भए । दिपेन्द्र सिंह ऐरी २३ बलमा १९ रन बनाउँदै क्याच भए । रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे । एनटी स्ट्राइकको लागि म्याट ह्यामोन्डले नेपालको ३ विकेट लिए । उनलाई केन रिचारसन र टम एन्ड्रिजले समान २-२विकेट लिँदा हामिस मार्टिनले १ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको एनटी स्ट्राइकको लागि लागि डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । उनलाई ८.४ ओभरमा सन्दपि लामीछानेले बोल्ड आउट गरेका हुन् । ज्याक वेथरहाल्डले ११ रन बनाए । उनी ३.४ बलमा रुपेश कुमार सिंहको बलमा सोमपाल कामीको हातमा क्याच भए । कनर क्यारोलले १८ रन बनाउँदै साहब आलमको हातबाट बोल्ड भए । जोर्डन सिल्कले १९ रन बनाउँदै दिपेन्द्रको हातबाट बोल्ड भए ।
क्याडेल म्याकमोहन १८.२ ओभरमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए । उनले १२ बलमा १२ रन बनाए । टम एन्ड्रिज ३२ रनमा अविजित रहे । हामिस मार्टिन २ रनमा अविजित रहे । नेपालका लागि बलिङमा सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए । साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए ।
नेपालले सिरिजको दोस्रो खेल बंगलादेश ‘ए’ सँग शनिबार दिउँसो ३:१५ मा खेल्नेछ । जारी प्रतियोगितामा ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।