आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समयावधि सकिएको छ ।
यसअघि कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मंसिर ५ गतेसम्मका लागि समय थपेको थियो । यो अवधिमा नयाँ ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा गई आवेदन दिएका हुन् ।
यस्तै राष्ट्रिय परिचय पत्रमार्फत मात्रै ४ लाख ९१ हजार १८० मतदाता थपिएका हुन् । अन्तिम दिन शुक्रबारमात्र ७ हजार ८६२ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार संकलित मतादातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली मंसिर २० गते प्रकाशन गरिनेछ । आयोगले २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने जनाएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म https://applyvr.election.gov.np वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ। सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।’
योसँगै देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६६४ पुगेको निर्वाचन आयोगले जनाएको छ । यसअघि २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।