जम्मू कश्मीरमा ‘क्लाउड ब्रष्ट’बाट मृत्यु हुनेको संख्या ६५ पुग्यो

Yangle News
Yangle News
२०८२ साउन ३० गते
जम्मू कश्मीरमा ‘क्लाउड ब्रष्ट’बाट मृत्यु हुनेको संख्या ६५ पुग्यो

जम्मू कश्मीरको किश्तवाडमा ‘क्लाउड ब्रष्ट’बाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । यसमध्ये २१ जनाको शव पहिचान भइसकेको छ ।

घटनामा एक सयभन्दा बढी बेपत्ता छन् । अहिलेसम्म १ सय ६७ जनाको उद्धार गरिएको छ । यीमध्ये ३८ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

हजारौं भक्तजन माचैल माता यात्राको लागि किश्तवाडको पड्डर उप-डिभिजनको चासोटी गाउँ पुगेको बेला बिहीबार दिउँसो यो दुर्घटना भएको हो । चसोटी यात्राको पहिलो गन्तव्य थियो । बाढीले बस, पाल, लंगर र पसलहरू बगाएका छन् ।

चाशोती किश्तवार सहरबाट लगभग ९० किलोमिटर टाढा छ । मचैल माता मन्दिर जाने बाटोमा पर्ने यो पहिलो गाउँ हो । यो ठाउँ पडडर उपत्यकामा रहेको छ । यस क्षेत्रमा पहाडहरू १ हजार ८१८ मिटरदेखि ३ हजार ८८८ मिटरसम्म उचाइमा छन् । माचैल माता तीर्थयात्रा प्रत्येक वर्ष अगस्टमा हुन्छ । हजारौं भक्तहरू यसमा आउँछन् । यो २५ जुलाई देखि ५ सेप्टेम्बरसम्म चल्नेछ ।

यसअघि, अगस्ट ५ मा उत्तराखण्ड राज्यको धाराली गाउँमा पनि बाढी र पहिरोको कारण ठूलो विनाश भएको थियो । जसमा ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ । घटनामा दर्जनौं नेपाली पनि बेपत्ता छन् ।