संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)का अनुसार गाजा सहरमा हालैका दिनमा गाजामा इजरायलले गरेको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरूले दक्षिणतर्फ सरेका छन् ।
उक्त कार्यालयले जनाएअनुसार, अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद,पैदलै यात्रा गर्न बाध्य छन् ।
विस्थापित परिवारहरू विशेषगरी महिला र वृद्ध सदस्यको नेतृत्वमा नाङ्गो खुट्टा, घाइते बालबालिका र भारी बोक्दै, घण्टौंसम्म हिंडिरहेका छन् । संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले करिब एक हजार ५०० भन्दा बढी व्यक्तिलाई मानसिक सहायता, खानेपानी तथा औषधोपचार प्रदान गरिसकेका छन् । जसमा ९०० भन्दा बढी बालबालिका छन् ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका अनुसार गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा अत्यधिक चाप छ । यसै साता गाजा सहरको अल–कुद्स अस्पताल नजिकैको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको छ र हाल उक्त स्थानमा विस्थापितहरू आश्रय लिइरहेका छन् । यसबाहेक,संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये केवल ३ वटा मात्र सञ्चालनमा रहेका छन् ।
जिकीम सीमा नाका विगत चार दिनदेखि बन्द रहेको तथा भीड र लुटपाटका कारण इन्धन र औषधिसम्बन्धी आपतकालीन सेवाहरू अवरुद्ध भएको ओसीएचएले जनाएको छ । सहायता बोकेका सवारी साधनहरू ढिलो हुने, जोखिम सामना गर्नुपर्ने र बाटोमै अड्किने समस्याले सहायता अत्यन्त आवश्यक रहेका व्यक्तिहरूसम्म पुग्न गाह्रो भएको छ ।
ओसीएचएअनुसार यी सबै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयासरत छन् ।