श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाहलाई साथ दिएकोमा आपत्ति जनाएका छन् ।
वालेन्द्रले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको विषय र प्रधान न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद्लाई छल्दै राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका हुन् ।
उनले गलत कार्यलाई कुनै हालतमा सही भन्न नसकिने उल्लेख गरेका छन् । श्रम संस्कृति पार्टीले विधि मिचेर राजनीति अघि बढाउने प्रवृत्तिको सधैँ विरोध गर्ने उनले बताएका छन् । राईले वरीयताको चौथो क्रममा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती भएको आरोप लगाएका छन् । उनले उक्त कदमप्रति आपत्ति व्यक्त गर्दै सरकारले विधि र प्रक्रियालाई मिचेर राजनीतिक तथा कानुनी स्वार्थअनुसार काम गरेको आशंका व्यक्त गरेका छन् ।
उनले सहकारी ठगी प्रकरण र भदौ २३ र २४ मा भएको ‘जेन जेड’ आन्दोलनलगायत विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने बताएका छन् । राईले प्रधान न्यायाधीश नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब तथा प्रभाव सिर्जना गरिएको दाबी पनि गरेका छन् ।
यसका साथै, आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख ठाकुरले समेत वरियताक्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण भएको उल्लेख गरेका छन् ।
विज्ञप्ति :