यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ । यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।
मनसुनको उत्तरार्द्धमा यसपालि देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो । यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गत जेठ १५ गते मनसुन भित्रिएको थियो । देशभर मनसुन फैलिन २३ दिन लागेको थियो ।