जेनजी आन्दोलन : बैंकबाट ५ करोड नगद र १८ केजी सुन लुटपाट

Yangle News
Yangle News
२०८२ अशोज १ गते
जेनजी आन्दोलन : बैंकबाट ५ करोड नगद र १८ केजी सुन लुटपाट

‘जेनजी’ आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र झण्डै १८ किलो सुन लुटपाट भएको खुलेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक पोडकास्टमा यस्तो बताएका हुन् । भदौ २४ गते प्रर्दशनकारीहरूले बानेश्वरमा रहेको संसद् भवनमा आक्रमण गर्दा नजिकै रहेको वाणिज्य बैंकको शाखामा पनि लुटपाट र तोडफोड भएको थियो । बैंकका अनुसार लुटपाट भएको सुन धितोका लागि राखिएको हो,जसको बीमा हुन्छ ।

आन्दोलनको दोश्रो दिन भदौ २४ गते उक्त शाखामा तोडफोड, आगजनी र लुटपाट भएको हो । साँझसम्मै अराजक समूहले बैंकमा लुटपाट गरिरहेका थिए । सेनाको टोली आइपुगेर ६ जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

राष्ट्र बैंकका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्शन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । राष्ट्र बैंकले क्षतिको तथ्यांक संकलनकै क्रममा रहेको जनाएको छ ।