यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५:०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए ।
विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् । अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् ।
‘सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । अब अरु आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने छन्,’ निर्देशक अवस्थीले भने ।
संसारकै अग्लो शिखर सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण गर्न विश्वका ५३ देशका आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन मानिने यस वैशाख र जेठ महिनामा मात्र चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहणका लागि अनुमति लिएका छन् । आरोही र उनीहरुका सहयोगी तथा पथप्रदर्शकसमेत गरी करिब एक हजार जना चुचुरोमा पुग्न सक्नेछन् ।
विभागका अनुसार सगरमाथा आरोहणका लागि ५३ देशका ४ सय २१ आरोहीले अनुमति लिएका छन् । यिनीहरु ४४ आरोही समूहमा रहेका छन् ।