निर्वाचन प्रक्रिया स्थगित गर्न एन्फालाई आयोगको निर्देशन

Yangle News
Yangle News
२०८२ फाल्गुन ६ गते
निर्वाचन प्रक्रिया स्थगित गर्न एन्फालाई आयोगको निर्देशन

निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । आयोगले पत्रमार्फत एन्फाको आसन्न निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।

पत्रमा एन्फाले निर्वाचनसम्बन्धी कार्यक्रम अघि बढाएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अनुसार यसअघि भएको पत्राचार तथा निर्देशनको सन्दर्भमा सम्बन्धित निकायबाट निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः कार्यक्रम अघि बढाइएको पाइएको उल्लेख छ ।

आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न तथा अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गर्न स्पष्ट निर्देशन दिएको छ । आयोगले आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।

सोमबार एन्फाले निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार एन्फाको नयाँ नेतृत्वका लागि २७ फागुनमा मतदान हुने कार्यतालिका थियो । एन्फाले मताधिकारका लागि ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरु र केही प्रदेशका जिल्ला फुटबल संघहरु छनोटसमेत गरिसकेको छ ।

Yangle News