जिल्ला प्रहरी परिसर काठमाडौंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक विरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।
सुदन गुरुङ लगायतको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौं र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौं,’ प्रवक्ता भट्टराईले भने, ‘दर्ता नगरी आयोगको कार्य क्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौं ।’
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्धको जाहेरी प्रहरीलाई बुझाएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले प्रहरीलाई जाहेरी दिएका हुन् । तर सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने प्रहरीले जवाफ दिएको बडालले बताए । यस्तै महासचिव धामीले पछिल्ला दिनहरूमा भएका घटनाप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गराएको बताए ।