विद्युतका पोलमा तानिएका तार ४५ दिनभित्रमा व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई समयसीमा, नभए प्राधिकरण आफैंले हटाइदिने
Yangle News
२०७९ कार्तिक १५ गते
नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप वनाएको छ । आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु वढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ ।
आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘तोकिएको समयमा व्यवस्थापन गर्ने नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’उपकार्यकारी निर्देशक सिलवालले भने ।
प्राधिकरणले अप्टिकल फाइबर केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमश: ८० र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ । अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।
राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ ।
प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ । पोलहरुमा लुप वनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।
सेवा प्रदायकहरुले निजहरुको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङसमेत गर्नु पर्ने छ ।
सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ ।