नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ७ सय १७ जना भर्ती हुँदा २ हजार ३ सय ६९ जनाले राजीनामा दिएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले उक्त जानकारी दिएका हुन् ।
उनले गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७१७ जना रहेको बताए । त्यस्तै बढुवा र पदस्थापना ७ हजार ४ सयजना र सरुवा २१ हजार २२४ रहेको बताए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९४९ जना रहेको प्रवक्ता घिमिरेले बताए ।
घिमिरेले भने, ‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७१७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २२४ रहेको छ । २ हजार ३६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जाने ५२३ जना हुनुहुन्छ ।’
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरू ५२३ जना रहेको बताए । उनका अनुसार गत आ.व.मा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ ।
नेपाल प्रहरीमा ४ हजार ७३५ जनशक्ति रिक्त रहेको छ । प्रहरी प्रवक्ता घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति रिक्त रहेको बताए । विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८०६) रहेको पनि बताए । सिनियर अफिसरहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको बताए ।
उनले भने, ‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ हो । अहिले ४ हजार ७३५ खाली छ । विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८०६ रहेको छ । सिनियर अफिसरहरूको प्रतिशतमा गणना गर्दा प्रहरी महानिरीक्षकदेखि, प्रहरी निरीक्षकहरु गणना गर्दा २.८४ प्रतिशत रहेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ ।’
उनका अनुसार तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।