संविधान संशोधन गर्ने नाममा षडयन्त्रको प्रयास भइरहेको आरोप

Yangle News
Yangle News
२०८१ चैत्र २७ गते
संविधान संशोधन गर्ने नाममा षडयन्त्रको प्रयास भइरहेको आरोप

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले उनले गणतन्त्र पक्षधर दलहरुले संविधान संशोधनका नाममा षडयन्त्र गर्न लागेको लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै गुरुङले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधनको प्रयास भइरहेको बताएका हुन् । यदि, त्यसो गरिए देशमा आगो बल्ने उनले चेतावनी दिए ।

चैत १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने संयोजक गुरुङले घोषणा गरेका छन् । उनले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

सामूहिक गिरफ्तारीको अगुवाई आफूले गर्ने उनले बताए । उनले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गरे । अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ ।

गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते तीनकुनेमा आयोजना गरिएको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए ।

राजावादीहरूलाई कमजोर र बदनाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए ।