एनपीएल-२ : साविक वितेजा जनकपुर बोल्ट्स पहिलो खेलमै पराजित

Yangle News
Yangle News
२०८२ मंसिर १ गते
एनपीएल-२ :  साविक वितेजा जनकपुर बोल्ट्स पहिलो खेलमै पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले साविक वितेजा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जनकपुरले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रनको लक्ष्य पूरा गरेको हो ।

गोर्खाजका लागि ओपनर ब्याटर वेन चार्लेसवर्थले सर्वाधिक४६ रन बनाए । उनले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि उनले आकाश त्रिपाठीसँग ७० रनको साझेदारी गरेका थिए । भीम सार्की ३ रनमा क्याच भए । आकाश त्रिपाठीले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए । मिलिन्द कुमारले २२बलमा १९ रन बनाएर क्याच भए । जोन सिम्पसन १३ रनमा एलबीडब्ल्यू आउट भए । मोहम्मद आदिल आलम ८ र जेहरार्ड इरास्मस १ रनमा अविजित रहे । जनकपुर बोल्ट्सका लागि किशोर महतो, ललित राजवंशी, निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्ति र अनिल शाहले १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि मार्की खेलाडी रहेका आसिफ शेखले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका हुन् । ओपनर लाहिरु मिलान्थाले ७ रन बनाउँदा कप्तान अनिल शाह डकआउट भए । निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्ति समान २-२ रनमा पेभेलियन फर्किए ।

१० ओभरको खेल सकिँदा जनकपुर बोल्ट्सले ४ विकेटको क्षतीमा ५६ रन बनाएको थियो । १७ ओभरमा ५ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो । जनकपुरका लागि मयन यादव र लाहिरु समाराकोनले छैटौं विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । मयन यादव ३४ र किशोर महतो ४ रनमा अविजित रहे ।

काठमान्डु गोर्खाजको लागि अमेरिकन अलराउन्डर मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । साहब आलम, करण केसी र सन्तोष यादवले १-१ विकेट लिए । काठमान्डु गोर्खाजले बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । जनकपुरको दोस्रो खेल अर्को हप्ता सोमबार विराटनगर किंग्ससँग खेल्नेछ ।

Yangle News

भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सले ११:४५ मा खेल्ने तालिका छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ ।

एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछन् । बाँकी ९ खेल दिनमा हुनेछन् । लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ ।