काठमाडौंमा शुक्रबारदेखि फागु सुरु भएको छ । शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभसाइत हनुमानढोकामा चीर ठड्याई फागुको सुरुवात गरिएको हो ।
चिर ठड्याउने समयमा त्यहाँ उपस्थित हुने सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए ।वसन्त उत्सवका रुपमा समेत मनाइने रङ्गहरूको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुको आसुरी पक्ष, प्रल्हाद भक्तिको शक्ति र शक्तिको दुरुपयोग गर्ने होलिका दहनसँग पनि यस पर्वलाई जोड्ने गरिएको छ । यसरी होलिकाको शक्तिको आसुरी पक्ष अन्त्यको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।
हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ । हनुमान ढोकालगायत पाटन र भक्तपुरमा पनि चीर ठड्याइन्छ । ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा भक्तजन भीड लागेको थियो ।
भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होली सुरुआत भएको छ । काठबाट बनेको दुई हात लामो भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ ।
चाँगुनारायणमा भने लिच्छविकालदेखि नै होलीका दिन त्यहाँ रहेको राधाकृष्ण र रुक्मिणीको खट जात्रा निकालेर अबिर छर्दै चोक चोक घुमाइन्छ । चीर ठड्याउनुको पनि विशेष महत्त्व रहेको संस्कृतविद् बताउँछन् । तीनतले चीरमा झुन्ड्याइने रंगीविरंगी कपडा श्रीकृष्णले लुकाइदिएको गोपिनीहरूको सारी मानिन्छ ।
गोपिनीहरू नदीमा निर्वस्त्र नुहाइरहेको समयमा कृष्णले सबैको कपडा एउटा रूखको हाँगामा लुकाइदिन्छन् । र, आफू सोही रूखमा चढेर बाँसुरी बजाउन थाल्छन् । गोपिनीहरूले अब उप्रान्त निर्वस्त्र नुहाउन नपाइने सर्तमा ती सबै कपडा फिर्ता पाएका थिए । यसैको खुसियालीमा सांकेतिक चीर ठड्याइने गरिएको छ । चीरमा झुन्ड्याइने कपडाको टुक्राले नारीले आफ्नो जीवनमा सिक्ने ६४ कला दर्शाउँछ ।
रंगीचंगी झल्लर कपडाका टुक्रा भुन्ड्याउने र टुप्पोमा मयलको रूख बाँधेर गुरुजुको पल्टनसहित तोप पड्काउँदै अबिर छरेर होली शुभारम्भ गरिन्छ ।काठमाडौंका धालासिक्वाका मानन्धरहरूले चीर ठड्याउँछन् । सोही समयमा हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रंगीचंगी कपडाका टुक्रा झुन्ड्याएर मयलको रूख गाडेर पूजा गरिने गरिन्छ ।
फागुन शुक्ल अष्टमीमा ठड्याइएको चीर पूर्णिमाको रातमा ढालिन्छ । लगत्तै चीरलाई टुँडिखेल पुर्याई दाह गरेपछि होली समाप्त हुन्छ । त्यसको भोलिपल्ट वसन्त ऋतु सुरु हुन्छ । यो वर्ष होली पहाडी जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ । उक्त दिन सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।