सरदर समयअनुसार आजका दिन नेपालबाट मौसम बाहिरिनुपर्ने हो । सरदर नेपालमा अंग्रेजी पात्रोअनुसार जुन १३ मा मनसुन नेपाल भित्रन्छ र अक्टोबर २ तारिखका दिन बाहिरिन्छ ।
तर आज अक्टोबर २ तारिखका दिन नेपालमा मनसुन थप सक्रिय भएको छ । आजदेखि सक्रिय भएको मनसुनले देशका धेरै ठाउँमा क्षति पुर्याउन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस वर्ष सरदर मितिभन्दा १५ दिनअगावै (मे २९ अर्थात जेठ १५ गते) नेपालमा मनसुन भित्रिएर पूर्वी नेपालमा सुरुमै क्षति पुर्याएको थियो । बाहिरिने समयमा पनि मनसुन थप सक्रिय भएर देशका विभिन्न ठाउँमा क्षति पुर्याउन सक्ने पूर्वानुमान गरिएको छ । मनसुन कति दिनपछि बाहिरिने हो पूर्वानुमान भएको छैन ।
आजदेखि मनसुन सक्रिय भएको भए पनि आज भारी वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै आज कोशी प्रदेशको तराई र पहाडी भू-भागका साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । भोलि (शुक्रबार)देखि आगामी तीनदिनसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र भारीका साथै अति भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।
भोलि शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार असोज १८ गते देखिभने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।
असोज १९ गते पनि अतिभारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालिका कारण असोज १९ गते देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका भारीदेखि धेरै भारी वर्षा रहेको छ भने यी प्रदेशकै एकदुई स्थानमा अति भारी वर्षा रहेको महाशाखाले जनाएको छ ।
कहाँ-कहाँ जोखिम ?
जल तथा मौसम विज्ञान विभागकाअनुसार भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेका विभिन्न जिल्ला असोज १७ गतेदेखि २० गतेसम्म बाढी पहिरोको जोखिममा रहेका छन् ।
हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यीनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ । विशेष गरेर यस वर्षाको समयमा बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन बाढीपहिरोको जोखिम छ ।
यस्तै कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मधेश प्रदेशका वारा, पर्सा, सर्लाही, रौतहत, मोरङ जिल्ला आसपास भइ बग्ने नदीहरूमा आकस्मिक वहाब बढ्ने र त्यसले डुवान, कटानको जोखिम निमत्याउन सक्ने पूर्वानुमान रहेको छ ।
त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न र आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।