पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औं स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका-७, सुइरेचौरमा आज आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताएका हुन् ।
उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गरेको भूमिकाको सराहना गरे । यसका साथै उनले सम्पादक समाज नेपाली समाजलाई उन्नतिको मार्गमा रुपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।
उनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणीसमेत गरे ।