‘संविधानसम्मत प्रक्रियाबाट निकास, सुरक्षा निकायको भूमिकामाथि समीक्षा’

Yangle News
Yangle News
२०८२ भदौ २५ गते
‘संविधानसम्मत प्रक्रियाबाट निकास, सुरक्षा निकायको भूमिकामाथि समीक्षा’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा भएको मृत्यु र सयौं घाइते भएको घटनाप्रति सो पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको र जेलबाट हजारौँ कैदीबन्दी बाहिरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । वक्तव्यमा सुरक्षा निकायको भूमिकाको पनि समीक्षा हुनुपर्ने भनिएको छ ।

यस्तो प्रतिकूल अवस्थामा पार्टी पङ्क्तिलाई अविचलित र एकताबद्ध रहन आग्रह गर्दै वक्तव्यमा भनिएको छ, ‘अहिले सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अघि बढ्नु जरुरी छ ।’ उत्पन्न राजनीतिक अवस्थाको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने भन्दै एमालेले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न र युवापुस्ताका मागलाई सम्बोधनका लागि पहल गर्न आग्रह गरेको छ ।