एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष अन्डर नाइन्टिन क्रिकेट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको छ ।
नेपाली टोली लगातार तीन खेल हार्दै उपाधि होडबाट बाहिरिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पनि नेपाल आज अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । यसअघि, नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग सात विकेटले पराजित भएको थियो । समग्रमा नेपाल समूह ‘बी’को तालिकामा सबैभन्दा तल रह्यो ।
उक्त समूहबाट श्रीलंका र बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भए । नेपाललाई हराएको अफगानिस्तान पनि उपाधि होडबाट बाहिरियो । समूह ‘ए’बाट भने तीनवटै खेल जित्दै भारत ६ अंकसहित विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । उक्त समूहबाट पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यूएई र मलेसिया भने बाहिरिए ।
दुबईस्थित द सेभेन्स स्टेडियममा खेलिएको आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज निर्धारित ५० मध्ये ४६ दशमलव ४ ओभरमै अलआउट हुनुअघि एक सय २४ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रूपमा ६ रन पायो । अफगानिस्तानका बलर जैतुल्लाह शाहिनले तीन विकेट लिए । वाहिदुल्लाह जदरान, नुरिस्तानी ओमरजाई र अब्दुल अजिजले पनि दुई/दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ गर्ने क्रममा अफगानिस्तानले २६ दशमलव ५ ओभरमै केवल चार विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो । अफगानिस्तानको जितमा उजाइरुल्लाह निजाईले सर्वाधिक ६१ रनको योगदान गरे । ओपनर ओस्मान सदातले २८ रन बनाए । अर्का ओपनर फैसल सिनोजादाले १३, कप्तान महबुब खान ११ र अजिजुल्लाह मिखाइल पनि ११ रनमा अविजित रहे । अफगानिस्तानले अतिरिक्त रूपमा केवल एक रन पायो । नेपाली टोलीका बलर अभिषेक तिवारीले दुई विकेट लिए । विपिन शर्मा र चन्दन रामले पनि एक/एक विकेट हात पारे ।
अब सेमीफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग पहिलो सेमिफाइनल खेल्नेछ । समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेताबीच अर्को सेमिफाइनल खेल हुनेछ । दुवै सेमिफाइनल खेल डिसेम्बर १९ तारिखमा हुनेछ । फाइनल खेल डिसेम्बर २१ मा हुने तालिका छ ।