थाइल्याण्डमा ३ सय वर्षयताकै भारी वर्षा

Yangle News
Yangle News
२०८२ मंसिर १० गते
थाइल्याण्डमा ३ सय वर्षयताकै भारी वर्षा

थाइल्याण्डमा भारी वर्षाले धेरै शहरहरू तहसनहस पारेको छ । बाढीले अहिलेसम्म १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारले उद्धार र राहत कार्यका लागि सेनालाई डुंगा र हेलिकप्टर प्रयोग गर्न आदेश दिएको समाचारमा उल्लेख छ । गत हप्ता देशको दक्षिणमा रहेका दश प्रान्तहरूमा बाढी आएको थियो, मलेसियासँग सीमा जोडिएको व्यापारिक केन्द्र हात याईमा ३०० वर्षमा एकै दिनमा सबैभन्दा बढी ३३५ मिमी वर्षा भएको रेकर्ड गरिएको थियो ।

बाढी प्रभावित क्षेत्रका शहरमा सवारी साधन र घरहरू डुबेका छन् । पीडित बासिन्दाहरू राहत र उद्धारको लागि आफ्नो छतमा पर्खिरहेका छन् । अविरल वर्षाले छिमेकी देशहरूमा पनि विनाश निम्त्याएको छ । भियतनाममा एक हप्तामा मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने मलेसियामा १९ हजारभन्दा बढी मानिस घर छोड्न बाध्य भएका छन् । थाइल्याण्डमा २० लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार, दक्षिणी थाइल्याण्डका नौ प्रान्त अझै पनि बाढीमा छन्, जसले १ लाख २७ हजारभन्दा बढी घरपरिवारलाई असर गर्छ ।