‘अवरोधहरु तोड्दै, सबैका लागि फुटसल’ भन्ने अभियानका साथ अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रेले क्लबफुट सचेतना कार्यक्रमअन्तर्गत फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।
बुधबार बनेपामा सम्पन्न फुटसलमा उपचार प्राप्त क्लबफुट बालबालिका तथा व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । क्लब फुटसम्बन्धी जनचेतना अभिवृद्धि तथा उपचारप्राप्त बालबालिकाहरुको आत्मबल र क्षमताको कदर गर्दै अन्य उपचारार्थ बालबालिकाहरुको उपचार सफलताको लागि प्रेरणा जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष डा. अशोक बाँस्कोटाले बताए ।
उनका अनुसार क्लबफुट एक जन्मजात अवस्था हो । जसमा बच्चाको खुट्टा तल झुकेर भित्रतिर फर्किएको हुन्छ । हरेक एक हजार जना बच्चामध्ये करीब ३ जनामा क्लबफुटको समस्या हुने गर्छ । कहिलेकाहीँ यो समस्या एउटै परिवारका धेरै बच्चामा पनि हुने गरेको डा. बाँस्कोटाले बताए । यस समस्याबाट केटाहरु बढी प्रभावित हुने गरेको तथ्यांक छ । क्लब फुटको उपचार बच्चा जन्मेपछि जतिसक्दो चाँडो गर्नसक्यो, त्यति नै राम्रो परिणाम देखिने गरेको उनले बताए ।
खेल मैदानमा देखिने बालबालिकाहरुको हाँसो, दौड र गोलहरु आफूहरुको प्रयासहरुको सफलताको उदाहरण भएको संस्थामा आवद्ध डा. विवेश बाँस्कोटाले बताए । क्लबफुटको उपचारपछि फुटसल खेल्न पाउँदा थप हौसला बढेको भन्दै सहभागीहरुले खुशी व्यक्त गरे । समयमै उपचार पाएकाले खुट्टा सामान्य अवस्थामा आएको र आफूहरुले फुटसल खेल्नसमेत सकेको उनीहरुले बताएका छन् ।
शारीरिक अपांगता भएका बालबालिकाहरुलाई प्राथमिकताका साथ उपचार तथा पुनःस्थापना सेवा पुर्याउने उद्देश्यले २०४२ सालमा स्थापित केन्द्रले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । इटहरी, सिरहा, कोहलपुर, सुर्खेतमा समेत केन्द्रको शाखा रहेको छ । केन्द्रले हालसम्म १ लाख २४ हजारभन्दा बढी शारीरिक अपांगता भएका बालबालिकाको उपचार गरिसकेको छ ।