धनुषाधाम मेलामा एक करोड रुपैयाँको तेजपात खरिद बिक्री

Yangle News
Yangle News
२०८० माघ २७ गते
धनुषाधाम मेलामा एक करोड रुपैयाँको तेजपात खरिद बिक्री

 

धनुषाधामको एक महिने मकरसङ्क्रान्ति मेलामा करिब एक करोड रुपियाँ बराबरको तेजपातको कारोबार भएको छ । जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमामा रहेको धनुषाधाममा हरेक वर्ष यो मेला लाग्ने गर्छ ।

त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुक्रा भएर एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषामा खसेकाले धनुषाधामकै रूपमा पुजिन थालिएको धार्मिक तथा पौराणिक मान्यता छ । मेला माघ महिनाभर लाग्छ । आन्तरिक तथा बाह्य पर्यटकको उपस्थति रहने मेलामा माघ महिनाको प्रत्येक आइतबार भने भीड बाक्लिने गर्छ । मेलामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा भारतीय सीमावर्ती क्षेत्रका दर्शनार्थी आउने गर्छन् ।

कुकुर, छाउरो, घोडा, हस्तकला किनबेच तथा आमा–छोरीको मिलन, लोकदोहोरी र मन्दिरमा विवाह गर्ने चलन एवं मौलिकता हराउँदै गए पनि तेजपातको खरिद बिक्रीमा वृद्धि भएको स्थानीय बताउछन् ।  भान्सा तथा घरेलु औषधीमा प्रयोग गरिने तेजपात बर्षेनी आयोजना हुने यो मेलाको मुख्य आकर्षणको रुपमा रहने गरेको छ । साथै सखरखण्ड, धुपी, फलामको कृषि तथा घरेलु औजारको पनि राम्रै व्यापार हुने गरेको छ ।

मेलामा अहिलेसम्म एक करोड रुपैयाँ बराबरको तेजपात कारोबार भएको मेला व्यवस्थापन समितिको सल्लाहकार तथा व्यवसायी चलितर महतोले बताए । उदयपुर जिल्लाबाट भित्रीएका दुई हजार चारसय क्विन्टल तेजपात बिक्री भएको उनले जानकारी दए । अघिल्लो वर्ष एक हजार किलोभन्दा बढी तेजपात बिक्री भएको उनले बताए ।