मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

Yangle News
Yangle News
२०८१ अशोज ६ गते
मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

 

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी काम अन्तिम चरणमा पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीको सहायक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युतले बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने काम गरिहेको छ ।

सबस्टेसनको करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको प्राधिकरणले जनाएको छ । २२० केभी सिंगल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो ।

बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । अबको १५ दिनपछि सुरुङमा पानी भर्न थालिने छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरुको वेट टेस्ट सुरु हुने छ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने भएको छ ।यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दशैं अगाडि सक्ने गर्ने गरी काम भइरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।