चिराइतोको भाउ अहिले ४० हजार रूपैयाँ पुगेको छ । गत वर्षको तुलनामा प्रतिमन १० हजार रूपैयाँ बढेर यसको मूल्य ४० हजार भएको हो । चिराइतो गत वर्ष प्रतिमन (४० किलो) ३० हजार रूपैयाँमा कारोबार भएको थियो ।
भारत निर्यात हुँने चिराइतो झापामा पुर्याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । केही वर्ष अघिसम्म ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।
योसँगै पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैंचीभन्दा चिराइतोको मूल्य माथि पुगेको छ । अलैंची प्रतिमन ३५ हजार रूपैयाँका दरले कारोबार भइरहेको छ ।
सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालका अनुसार गत वर्ष ३० हजार रूपैयाँ प्रतिमन कारोबार भएको चिराइतो आजभोलि भाउ बढेर ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
गत वर्ष १८ हजार रूपैयाँ हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजार रूपैयाँसम्ममा लिने गरिएको छ । चिराइतो संकलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।
व्यवसायीका अनुसार चिराइतो सुकेको वा नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् ।
लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैंचीभन्दा धेरै पुगेपछि किसान खुसि भएका छन् । लेलेपका सुदिप वान्तबा पनि चिराइतोको भाउ बढेर किसानलाई उत्साहित बनाएको बताउँछन् । अहिलेकै मूल्य कायम रहे धेरै रकम लगानी गरेर खेती गर्ने किसानको लगानी खेर नजाने वान्तबा बताउँछन् । पहाडी क्षेत्रका किसानले आम्दानीका लागि अलैंचीपछि चिराइतो खेती धेरै गर्दै आएका छन् ।
उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य हो । समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्ण रूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उखेलिन्छ ।
भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतो संकलन हुन्छ । प्रायले जंगलमा गएर संकलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जंगल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखेल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् ।
चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो संकलन गरेका एक व्यवसायीले यो वर्ष मुस्किलले ७० मन पुर्याएको बताए ।
ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।