पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट गर्ने सरकारको निर्णय

Yangle News
Yangle News
२०८२ चैत्र २४ गते
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट गर्ने सरकारको निर्णय

सरकारले पेट्रोल, डिजल र मट्टीतेल आयातमा लगाउँदै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भन्सार महसुल र पूर्वाधार विकास करमा छुट दिने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले भन्सार महसुल, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको छ ।

अहिले १ लिटर पेट्रोल आयात गर्दा २५ रुपैयाँ २३ पैसा भन्सार महसुल, १० रुपैयाँ पूर्वाधार विकास कर, १३ प्रतिशत भ्याट, ४ रुपैयाँ सडक मर्मत दस्तुर र १ रुपैयाँ हरित कर लाग्दै आएको छ । यस्तै अहिले डिजेल आयात गर्दा प्रतिलिटर १२ रुपैयाँ ३ पैसा महसुल, १० रुपैयाँ पूर्वाधार विकास कर, १३ प्रतिशत भ्याट, २ रुपैयाँ सडक मर्मत दस्तुर र १ रुपैयाँ हरित कर लाग्छ ।

इन्धनको खपत घटाउन र आपूर्ति सहज बनाउन सरकारले आमनागरिकलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन र सम्भव भएसम्म घरबाटै कार्य सम्पादन (वर्क फ्रम होम) गर्न आह्वान गरेको छ । अवस्था जटिल बनेमा सवारी साधनमा जोर-बिजोर प्रणाली समेत लागू गर्न सकिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।