बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी हुँदा अहिलेसम्म करिब ४० वटा पसल जलेर ध्वस्त भएका छन् ।
बुढीगंगा नगरपालिका-६ साँफे-मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो । आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार नवदुर्गा होटलबाट ग्यास सिलिन्डर पड्केर आगलागी भएको हो ।
दमकल नभएकाले आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाको भनाइ छ । आगो निभाउन बुढीगंगा नगरपालिका र आसपासकै पालिकामा समेत दमकल नभएपछि आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली तथा स्थानीयहरू खटेका थिए ।
डोजर र ट्याक्टरको सहायताले आगो नियन्त्रणमा ल्याइएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।