यस साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ । गत साता २५ सय ९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१७ प्रतिशत अर्थात १ सय ८.२२ अंक बढेर २७ सय ३.९६ विन्दुमा पुगेको छ । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ७ अर्ब २ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ९९ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.७४ प्रतिशत बढेको हो । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४ प्रतिशतभन्दा बढी बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ८० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८.५० प्रतिशत बढेको छ । अंकका आधारमा सर्वाधिक बढ्ने उपसमूह पनि यही हो । गत साता १२ हजार ४६१.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १ हजार ५८.६५ अंक बढेर १३ हजार ५२०.२० विन्दुमा पुगेको छ ।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस साता सबैभन्दा कम ०.८३ प्रतिशत बढेको छ । गत साता ४१३१.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.८३ प्रतिशत बढेर ४१६६.१३ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.४४ अंक बढेको छ ।
यस साता राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक २६.२३ प्रतिशत बढेको छ । त्यस्तै, यस साता सिन्धु विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे २३ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको मिड सोलु हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक ५.६९ प्रतिशत घटेको छ ।
यस साता नेप्सेमा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको १ लाख ७७ हजार २४० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।