म्यानमारमा चैत १५ गते गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुगेको त्यहाँको सैन्य सरकारले बुधबार दिएको छ ।
भूकम्पमा घाइते हुनेको संख्या ४ हजार ६ सय ३९ पुगेको छ भने ३ सय ७३ जना अझै बेपत्ता छन् । राहत र उद्धार जारी छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
गत मार्च २८ मा म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प जाँदा छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म धक्का महसुस गरिएको थियो । त्यहाँ भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १ सय जना कामदार बेपत्ता छन् ।
७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको १२ मिनेटपछि फेरि म्यानमारमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । म्यानमारमा गएको यस पटकको भूकम्पलाई दुई शताब्दीयताकै शक्तिशाली भनिएको छ ।