धादिङ बस दुर्घटना : मृतक १९ मध्ये ९ जनाको सनाखत

Yangle News
Yangle News
२०८२ फाल्गुन ११ गते
धादिङ बस दुर्घटना : मृतक १९ मध्ये ९ जनाको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७, चरौंदीनजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा घाइते २५ जनाको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिकसमेत रहेका छन् । मृत्यु हुनेमा २४ वर्षीय ब्रिटिस नागरिक स्टेवार्ट डोमिनिक एन्थन, कास्कीको पोखरा महानगरपालिका-३० निवासी ४० वर्षीय विवेक बस्नेत, स्याङ्जाको वालिङ-१४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-६ बस्ने ६३ वर्षीय चन्द्र बहादुर ढेंकर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, तनहुँको व्यास गाउँपालिका-४ निवासी अन्दाजी ४० वर्षीय ओम कुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ बस्ने अन्दाजी ३० वर्षीय इन्जिनियर ढुंगाना, तनहुँको शुक्ला गण्डकी गाउँपालिका-७ बस्ने अन्दाजी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसाल निवासी अन्दाजी २९ वर्षीय लोमाङ गोले, तनहुँको भिमान नगरपालिका-६ बस्ने अन्दाजी ४६ वर्षीय हरि प्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका-१ निवासी अन्दाजी ५५ वर्षीय नबिन्द्र श्रेष्ठको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जानकारी गराएको छ । मृत्यु भएका अन्य १० शवको भने सनाखत हुन बाँकी छ ।

यसैबीच, सरकारले दुर्घटनाको बारेमा छानबनि गर्न समिति गठन गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी सहितको बैठकले यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका लागि बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिए ।

चुनावी सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता घटनाले सुरक्षामा चुनौती थपिन सक्ने खतरा औंल्याउँदै उनले बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालालाई आग्रहसमेत गरेका छन् ।