नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान

Yangle News
Yangle News
२०८३ बैशाख २२ गते
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने भएपछि बाँकी पदहरूका लागि निर्वाचन हुन लागेको हो ।

यस पटकको निर्वाचनमा विशेष गरी दुई समूहबीच प्यानलगत प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित समूह र वर्तमान उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहले उपाध्यक्ष तथा कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार महासंघको कुल ७३ पदका लागि १३७ जना व्यवसायीहरूले उम्मेदवारी दिएका छन् । मतदानका लागि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

मतदान प्रक्रिया सम्पन्न भएलगत्तै आजै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । यस निर्वाचनले महासंघको आगामी कार्यसमिति र निजी क्षेत्रको नेतृत्व गर्ने नयाँ पदाधिकारीहरूको टुङ्गो लगाउनेछ ।