अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षको विश्वकप फुटबलका लागि पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ । फिफाले पुरस्कार रकम ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको हो ।
फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ, जुन अघिल्लो विश्वकपमा ४ करोड २० लाख अमेरिकी डलर थियो । उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछ ।
क्वार्टरफाइनलबाट बाहिरिने टोलीले १ करोढ ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउने व्यवस्था गरिएको छ ।
समूह चरणमै बाहिरिने टोलीले ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ । यसरी विश्वकप खेल्ने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख डलर पाउने निश्चित भएको छ ।
तीन वर्षअगाडि लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले उपाधि हात पारेको थियो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराएको थियो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ विश्वकपले विश्व फुटबल समुदायमा ऐतिहासिक आर्थिक योगदान दिने बताएका छन् । फिफाले २०२६ विश्वकपसम्मको चार वर्षमा १३ अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ । २०२२ विश्वकपअघि यस्तो आम्दानी ७.६ अर्ब डलर मात्र थियो ।
पहिलोपटक ४८ राष्ट्र सहभागी हुन लागेको सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछ । जुन ११ मा मेक्सिको सिटीमा हुने उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
फाइनल खेल १९ जुलाईमा न्यूयोर्कस्थित न्यु जर्सी स्टेडियममा हुने तालिका छ ।