मुलुकका अधिकांश भूभागमा वर्षा, कहिले हुन्छ मौसममा सुधार ?

Yangle News
Yangle News
२०८३ बैशाख २९ गते
मुलुकका अधिकांश भूभागमा वर्षा, कहिले हुन्छ मौसममा सुधार ?

पश्चिमी र स्थानीय वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसमविदहरूका अनुसार सोमबार राति सुदूरपश्चिमबाट प्रवेश गरेको शक्तिशाली वर्षा गराउने प्रणालीले देशभरको मौसममा उल्लेख्य बदलाव ल्याएको हो ।

यसका कारण मुलुकको ७५ प्रतिशतभन्दा बढी भू-भागमा हल्कादेखि भारी वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि सामान्य वर्षा भएको छ भने उपत्यकाका केही निश्चित क्षेत्रहरूमा भारी वर्षा महसुस गरिएको छ । हाल कोशी प्रदेशलगायत पूर्वी भू-भागको मध्यपहाडी क्षेत्रमा वर्षा जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार दिउँसो र अपराह्न पुन: वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम बढी सक्रिय रहने देखिएको छ । मेघगर्जन र चट्याङ सहितको मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना अझै रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने प्रभावप्रति सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

केही दिनसम्म यो मौसमी प्रणाली सक्रिय रहने देखिएकाले आवश्यक पूर्वतयारी अपनाउनसमेत सुझाव दिइएको छ ।