फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।
खेलको ६२औं मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो । ६४औं मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।
यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो । त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । त्यसअघि खेलको २४औं मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारिन् । गोलकिपर एन्जिलासमेत बिट भएर पोस्ट खाली हुँदा म्यानमारकी सान थ्व थ्वले गरेको प्रहारलाई विमलाले शरीरले रोकिन् ।
३५औं मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाउँदा नेपालले अग्रताको सुनौलो अवसर गुमायो । रेखाले पेनाल्टी बक्स बाहिरबाट निकालेको बलमा सावित्राले ‘वान भर्सेस वान’ अवस्थामा गरेको प्रहार नेइनले उत्कृष्ट बचाउ गरिन् । खेलको ४४औं मिनेटमा राइट साइडबाट रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडर ‘कनेक्ट’ हुन नसक्दा नेपालले अग्रता अर्को सुनौलो अवसर खेर फाल्यो ।
यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । प्रतियोगिताको लिग चरणमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा आएका हुन् । चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए ।
यस्तो छ १३ फाइनलको नतिजा
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।
पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३९ वर्षमा कुल १३ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप, एकपटक नादेज्दा कप, एकपटक वाफ महिला च्याम्पियनसिप र एक पटक अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ । नेपालले १३ फाइनल खेल्दा सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेश र म्यानमारसँग समान दुईपटक हार बेहोर्दा ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।
सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।
त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार बेहोर्यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्यो ।
सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्यो ।
यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हार बेहोर्यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।
सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहोर्यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन । फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औं फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो । यस्तै, घरेलु मैदानमै गएको अक्टोबर १७ देखि ३० सम्म भएको साफ महिला च्याम्पियनसिपको फाइनल १२औं हो ।