मनसुन आगमन सरदरभन्दा छिटो, यसै साता नेपाल प्रवेश : महाशाखा

Yangle News
Yangle News
२०८२ जेष्ठ १३ गते
मनसुन आगमन सरदरभन्दा छिटो, यसै साता नेपाल प्रवेश : महाशाखा

नेपालमा यसै साताको अन्त्यसम्ममा मनसुन प्रवेश हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज मनसुन आगमन अनुगमन बुलेटिन जारी गरेर यसै साता मनसुन प्रवेश हुने जनाएको हो ।

आज भारतको आसामका केही भूभागहरू तथा भुटान र बंगलादेशको पूर्व भूभागहरूसम्म मनसुनको आगमन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन अरब सागरको मध्य भू-भागका साथै महाराष्ट्रका केही भू-भाग, मुम्बई, कर्नाटका, बेंगालुरु, तमिलनाडुको बाँकी रहेको भू-भाग, तेलांगना र आन्ध्र प्रदेशका केही भू-भाग, पश्चिम-मध्य र उत्तरी बंगालको खाडीका केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेघालयका केही भू-भागसम्म मनसुनको आगमन भएको छ । बंगालको खाडी र उत्तरपूर्वी भू- भागका बाँकी भू-भाग तथा पश्चिम बंगाल र सिक्किमका केही भू-भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ ।

भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्यांकको विश्लेषणका आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भू-भागबाट प्रवेश हुने सम्भावना देखिएको महाशाखाले जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान/सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिएका हुन् ।

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशनहरु तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

विभागको कार्यालयमा स्थलगत रुपमा यसरी पहिलोपटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उहाँले आफूहरुले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने विभागले जनाएको छ ।

Yangle News