नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ३ वर्ष पूरा गरेको अवसरमा भएका प्रगतिविवरण सार्वजनिक गरेका छन् । प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण प्रगतिविवरण सार्वजनिक गरेका हुन् । उनी पहिलो कार्यकालको ४ वर्ष पूरा गरेर १ वर्ष प्राधिकरणमा रहेका थिएनन् । दोस्रो कार्यकाल २०७८ साउन २५ बाट सुरु गरेका उनले आज ३ वर्ष पूरा गरेका हुन् । उनको कार्यकाल अब १ वर्ष बाँकी छ । ३ वर्ष पूरा हुँदा उनले कार्यसम्पादनमा आर्थिक वर्ष २०७८—७९, र २०७९—८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त गरेको बताए ।
आफूले प्रसारण पूर्वाधार, विद्युतीयकरण, ठूला जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने, निर्यातलगायतलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताए। प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई अगाडि बढाइएको उनको भनाइ छ ।
त्यस्तै विकट बस्ती पहिचान गरी बाँकी विद्युतीकरण भइरहेको उनले सुनाए । आफ्नै स्रोतबाट सुकुम्बासी, चेपांगलगायतका घरमा निःशुल्क मिटर दिइएको, स्थानीय निकायसँग मिलेर स्मार्ट सडक बत्ती जडानबाट सहर उज्यालो बनाउने क्रम अघि बढेको उनको भनाइ छ । ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट बिजुली खपत हुने गरेकामा १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति बिजुली खपत १३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको उनले जानकारी दिए ।
घर र बस्तीमा बत्तीबाल्न मात्र नभई उद्योग व्यवसायमा बिजुली पुर्याउन आन्तरिक खपत बढाउन सफलता प्राप्त भएको बताए ।
प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन आफैँले सञ्चालनमा ल्याएको उनको भनाइ छ । निजी क्षेत्रबाट बनेका ४ सय बढी चार्जिङ स्टेसन सञ्चालनमा आएको उनले जानकारी दिए । पछिल्लो समय प्राधिकरण निरन्तर नाफामा गइरहेको पनि उनले उल्लेख गरेका छन् । हाल ३ पटक गरी २५ प्रतिशतले महशुल घटाउँदा पनि नाफा भइरहेको उनले बताए । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये २२ लाखलाई न्यूनतम ३० रुपैयाँमात्र गरी ऊर्जामा निःशुल्क गरिएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा उपलब्ध छ भने लिफ्टिंग खानेपानीमा डिमान्ड शुल्क नलाग्ने गरिएको छ ।