ग्रिनल्यान्ड कब्जा गर्ने विधेयक अमेरिकी संसदमा पेस

Yangle News
Yangle News
२०८२ पुस २९ गते
ग्रिनल्यान्ड कब्जा गर्ने विधेयक अमेरिकी संसदमा पेस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी भएपनि ग्रिनल्यान्ड लिएरै छाड्ने धम्की दिइरहेका छन् । अमेरिकामा सरकारी तहमा समेत ग्रिनल्यान्ड कब्जा गर्ने कुरा भइरहेको खबर आइरहेको छ । यसैबिच अमेरिकी संसदमा ग्रिनल्यान्डलाई देशको ५१औं राज्य बनाउने विधेयक पेस भएको छ ।

रिपब्लिकन सांसद र्यान्डी फाइनले यो विधेयक पेस गरेका छन् । ‘ग्रिनल्यान्डको विलय र राज्य ऐन’ नाम दिइएको विधेयक सोमबार संसदमा पेस भएको हो ।

यो विधेयकको उद्देश्य ग्रिनल्यान्डलाई अमेरिकामा विलय गराएर राज्यको मान्यता दिनु रहेको छ । ग्रिनल्यान्ड आफूहरूले वेवास्ता गर्न सक्ने टाढाको ठाउँ नभएको अनि यो राष्ट्रिय सुरक्षाका लागि निकै अहं रहेको फाइनले एउटा प्रेस विज्ञप्तिमा भनेका छन् । जो कसैको कब्जामा ग्रिनल्यान्ड हुन्छ, उसको मुठ्ठीमा आर्कटिक जहाजी मार्गको साँचो र अमेरिकाको बचाव गर्ने सुरक्षा संरचना रहने पनि विज्ञप्तिमा बताइएको छ ।

विधेयकले आवश्यकताअनुसार राष्ट्रपति ट्रम्पलाई डेनमार्कबाट ग्रिनल्यान्डलाई अलग्याउने वार्ता गर्ने वा अन्य तरिकाले यसलाई हत्याउने अधिकार दिने पनि भनिएको छ । भर्खरै हासिल गरिएको भू-भागलाई विधेयकअन्तर्गत राज्यको दर्जा दिनु पर्ने भएकोले ट्रम्पले संघीय कानुनमा परिवर्तनलगायत विषय समेटेर कंग्रेसलाई एउटा प्रतिवेदन पठाउनु पर्ने पनि भनिएको छ ।

अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्नेबारे कुनै समयसीमा नभएको ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लिभिटले सोमबार बताएकी थिइन् ।

Yangle News