प्रतिनिधिसभा सदस्य चुनाव सम्पन्न भएसँगै देशभर खटिएका झन्डै डेढ लाख निर्वाचन प्रहरी घर फर्किएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज औपचारिक कार्यक्रम आयोजना गरी निर्वाचन सुरक्षामा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई बिदाइ गरेका हुन् ।
माघ ३ गते भर्ना भई १० दिनको आधारभूत तालिम लिएका निर्वाचन प्रहरी ४० दिनसम्म फिल्डमा खटिएका थिए । १८ देखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजारभन्दा बढी नागरिक यो अभियानमा सहभागी थिए । प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले निर्वाचन प्रहरीले आर्जन गरेको अनुभव र सीप, समाज र देशका लागि उपयोगी हुने बताए ।
घर फर्किएका निर्वाचन प्रहरीहरुले पनि यो अनुभवले आफूलाई अनुशासित र असल नागरिक बन्न प्रेरणा दिएको बताएका छन् । सरकारले निर्वाचन प्रहरीमा भर्ना भएकालाई प्रहरी र सशस्त्र प्रहरीका जवानको आधारभूत तलबमान र लत्ताकपडा तथा रासनभत्ताअनुसारको सुविधा उपलब्ध गराएको थियो ।
एकजना निर्वाचन प्रहरीले ४० दिनको ३४ हजार रुपैयाँ तलबसहित जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार ४० दिनको रासन भत्ता, तीन दिनको खाजा खर्च, आवातजावात खर्च, पोषाक खर्चलगायत पाएका छन् ।
चुनावका लागि खटाएको ४० दिनको अवधिमा १३ जना निर्वाचन प्रहरीको ज्यान गएको छ । कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रहरी जवानको मृत्यु हुँदा दिइने सुविधा प्रदान गरिने व्यवस्था रहेको प्रवक्ता काफ्लेले बताए ।