‘निरंकुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खोजियो’

Yangle News
Yangle News
२०८१ चैत्र २६ गते
‘निरंकुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खोजियो’

प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेको बताएका छन् ।

मधेश प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘राजतन्त्र फेरि ल्याउने भनेर केही लागेका छन् । विगतमा निरंकुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र देशको वर्तमान र भविष्य हो ।’

प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउन संविधान संशोधनका लागि राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् ।

समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन गरिने उनको भनाई छ । ‘सामाजिक सद्‌भाव र राष्ट्रिय एकता बनाउन उपयुक्त समयमा संविधान संशोधन गर्छौं । त्यसका लागि एउटा एमाले र कांग्रेसको संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको संघर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको बताए ।