निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो । छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए ।
कांग्रेस नेता मीन विश्वकर्माले वर्तमान सरकार निर्माणका लागि गठन भए पनि निर्वाचन गर्न सरकार तत्पर नदेखिएको बताए । उनले निष्पक्ष रूपमा निर्वाचन हुने वातावरण बनाउन सुझाव दिएको उल्लेख गरे । निर्वाचनमा भाग लिन सबै दलहरू तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनु पर्ने सबै दलको सुझाव रहेको उनको भनाइ छ ।
त्यस्तै एमालेका नेता गुरु बरालले निर्वाचन गर्न निष्पक्ष, भयरहित वातावरण बनाउनुपर्नेमा सरकारले त्यस्तो वातावरण बनाउन नसकेको धारणा राखे । त्यस्तै माओवादी नेता देव गुरुङले तोकिएको समयमा निर्वाचन हुनुपर्ने भए पनि सरकारले निर्वाचनको वातावरण बनाउनेमा आशंका उत्पन्न भएको बताए ।
सरकारले दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए । त्यस्तै छलफलमा सहभागी अन्य दलहरूले पनि निर्वाचनमा लागि सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा गरिएको थियो ।