देउवा समूहको रिट दर्ता, पर्सिलाई तोकियो पेसी

Yangle News
Yangle News
२०८२ माघ ४ गते
देउवा समूहको रिट दर्ता, पर्सिलाई तोकियो पेसी

नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । यो रिटको पेस आजैका निम्ति तोक्न देउवा समूहका कानुन व्यवसायीले आग्रह गरेका थिए । तर, सर्वोच्च प्रशासनले यस दिन सुनुवाइ सम्भव नभएको जनाएको कानुन व्यवसायीले जानकारी दिए ।

सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका निम्ति तोकेको छ । भोलि (माघ ५) सार्वजनिक बिदा छ । आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च गएको हो । रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए ।

रिटमा मुख्यतः तीन माग गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ । विशेष महाधिवेशन अवैध भएको देउवा समूहको जिकिर छ ।

यस्तै, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनपत्र दर्तामा रोक लगाउन माग गरिएको छ । निर्वाचनका निम्ति माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यतालिका छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले पठाएका व्यक्तिहरूको मनोनयनपत्र दर्ता नगर्न रिटमा माग गरिएको हो । मनोनयनपत्र दर्ता गरिसकेको अवस्था भए त्यसलाई यथास्थितिमा राख्न पनि रिटमा माग गरिएको छ ।